Big News Times

\Latest Posts

Basnetg.com - Premium WordPress Themes

स्टारका लागि फिल्म बनाउँदिन : ऋषि लामिछाने (निर्देशक)

Published on: Thursday, September 6, 2012 // ,


दुई दर्जन फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेपछि बिसं २०६१ सालमा कहिं मिलन कहिं बिछोड फिल्मबाट निर्देशक बनेका ऋषि लामिछानेका फिल्म संख्यात्मक रूपमा कम छन् तर सफलता भने उनीसँगै छ । पहिलो फिल्म निर्देशन गरे तर व्यवसायिक रूपमा सफल हुन सकेन । त्यसपछि उनी ०६१ सालमा नै 'परिचय' नामक टेलिफिल्म लिएर दर्शक माझ उपस्थित भए जुन सिरियलले नेपालमा मात्र हैन बिश्वमा समेत चर्चा पायो । त्यसपश्चात टेलिफिल्म, डकुमेन्ट्री, सर्ट फिल्म गरि ४०० भन्दा बढि प्रोजेक्टमा उनले आफ्नो कला प्रस्तुत गरे । दोस्रो फिल्म आफ्नो मान्छे आफ्नै हुन्छ व्यवसायिक रूपमा मात्र सफल भएन कि उनलाई अवार्ड पनि यहि फिल्मले दिलायो । त्यसपछि श्रीमान श्रीमती, हाम्रो माया जुनी जुनीलाई निर्देशन गरे । र, अहिले उनी नयाँ फिल्म 'सरी ल' को सुटिङ तयारीमा छन् । यिनै निर्देशकसँग फिल्मीखबरले गरेको छोटो कुराकानीको सम्पादित अंश –

'सरी ल' कस्तो खालको फिल्म हो ?
समयको बन्धनमा बाँधिएका सकारात्मक तथा नकारात्मक घटनाक्रमहरू अनि कति जानेर कति नजानेर गरिने ति घटनाहरू र त्यहि घटना र दुर्घटना बिचबाट निक्सिएको कथा हो 'सरी ल' ।
लगातार रूपमा स्टार कलाकारसँग काम गरिरहेको मान्छे एक्कासी सुवास थापा, राजन खतिवडा जस्ता थिएटरका कलाकारसँग नजिक हुनुको कारण ?
स्टारको आफ्नै स्थान छ । तर समय परिवर्तन भएको छ र त्यो समयले मलाई पनि परिवर्तन गराएको छ । हो पहिला मैले स्टारको लागि फिल्म बनाएँ तर अब म कलाकारको लागि फिल्म बनाउँदैछु । मलाई स्टार हैन कलाकार चाहिएको थियो र 'सरी ल' मा कलालाई बुझ्ने र कलामा खारिएका कलाकारसँग काम गर्न लागेको हुँ ।' पहिला मलाई स्टारको परिधीले बाँधेको थियो तर अहिले त्यसबाट छुटकारा लिंदै नयाँ परिधी भित्र घुलमिल हुन लागेको हो ।

के त्यसो भए पुराना कलाकार अर्थात स्टारहरूको समय सकिएको हो त ?
त्यस्तो पनि हैन । स्टारको आफ्नै स्थान र महत्व छ । स्टार बिनाको फिल्म क्षेत्र खल्लो हुन्छ । दर्शकले जस्को टेस्ट खोज्छन् हामी तिनैको पछि लाग्ने हो । कुनै बेला टाउको बिक्थ्यो तर अहिले कला बिक्न थालेको छ । त्यसैले म अहिले सरस्वतीका वरपुत्रसँग काम गर्न लागेको हो । अब स्टार पनि कलाकार हुन जरूरी छ  र  आफ्नो स्टारडम देखाउन पनि छाड्नु पर्छ नत्र समयले कहाँ पुर्‍याउँछ भन्न सकिन्न ।

के त्यसो भए अब स्टारसँग काम गर्नु हुन्न ?
अब स्टार भनेर पछि लाग्दिन । यदि स्टारहरू पनि कलाकार भएर आउनु भयो भने पक्कै पनि काम गर्छु । अर्को कुरा फिल्मको कथाको डिमाण्ड पनि हुन्छ । कथाले मागे अनुसारको कलाकारसँग काम गर्छु तर स्टार नै भनेर पछि लाग्दिन ।

अहिले 'सरि ल' को निर्माण क्रममा हुनुहुन्छ । कस्तो सहयोग पाईरहनु भएको छ र अनुभव कस्तो हुँदैछ ?
कलालाई राम्रोसँग बुझेका मानिसहरूसँग काम गर्नुको मज्जा नै बेग्लै हुन्छ । कथाको मर्मलाई बुझ्ने, पात्रको चरित्र भित्र हराउने कलाकारसँग काम गर्न निकै मज्जा लाग्ने रहेछ । साँच्चिकै भन्ने हो भने मैले पनि उहाँहरूबाट केहि सिक्ने मौका पाएको छु, मैले उहाँहरूलाई बुझ्ने मौका पाएको छु भने उहाँहरूले पनि मलाई नजिकबाट बुझिरहनु भएको छ । हाम्रो टिमको आश भरोसा ठूलै छ बाँकी त भगवान भरोसा ।

विगतलाई फर्केर हेर्दा पहिलो फिल्मले सफलता पाएन तर सिरियलमा निकै जम्नु भो । कारण ?
कहिं मिलन कहिं बिछोड पहिलो काम थियो तर नराम्रो थिएन । व्यवसायिक पाटो आफ्नो ठाउँमा छ मैले आफ्नो तर्फबाट राम्रो फिल्म बनाएको छु जस्तो लागेको छ । पहिलो फिल्म गरे पश्चात सिरियललाई समय छुट्याएँ र सफल पनि भएँ । परिचय सिरियलले मेरो परिचय खोलिदियो । जापानको एनएचके टिभीले परिचयलाई शुरूमा दक्षिण एशियाको टप ड्रामामा राख्यो र त्यसपछि वर्ल्डको टप सिरियलको लिस्टमा राख्यो त्यो नै मेरो ठूलो सफलता थियो । त्यसपछि थुप्रै सिलियल, डकुड्रामाहरू गरें तर फिल्मको मोहले पुन: तान्यो र आफ्नो मान्छे आफ्नै हुन्छ निर्देशन गरें । यो फिल्म व्यवसायिक रूपमा सफल मात्र भएन कि दुई छुट्टै अवार्डबाट सम्मानित पनि भएँ । आशा छ अबका दिनमा अझ राम्रो काम सहित सफलाता पाउने छु ।

त्यसपछिको फिल्मले त अलि ओझेलमा पारेन र ?
आफ्नो मान्छे आफ्नै हुन्छ पछि श्रीमान श्रीमती गरें त्यसले व्यवसायिक लाभ लिन सकेन तर मैले काम नराम्रो गरें भन्दिन । हो दर्शकको टेस्ट फरक भईसकेको थियो र म असफल देखिएँ । हुनसक्छ म समयसँग घुलमिल हुन जानिन । तर अब समयले निकै कोल्टे फेरेको छ र त्यो कोल्टे फेराईसँगै म पनि कोल्टे फेर्दैछु । समय र त्यसको महत्वलाई नजिकबाट बुझ्ने कोशिस गर्दैछु ।

आगामी प्रोजेक्ट के कस्ता छन् ?
सरी ल सकिए लगत्तै साथ भन्ने फिल्म गर्दैछु र त्यसपश्चात आचार्य बनाएको सिल्क रूटको व्यानरसँग काम गर्नेछु । छबिराज ओझाको फिल्म लाई पनि पाईपलाईनमा राखेको छु । तर यि सबै फिल्म दर्शक र समयको टेस्टसंगै बन्नेछन् ।

0 comments for "स्टारका लागि फिल्म बनाउँदिन : ऋषि लामिछाने (निर्देशक)"

Leave Reply

Ekkai Chinnma- VISA GIRL

Recently Added

Fullistop Nepali Movie

MOST RECENT

Sansar Afnai

Blog Archive

Popular Posts

Feed!

Music Videos

RSS Feed!
RSS Feed!
RSS Feed!